हिब्रू

1 2 3 4 5 6 7 8 9 10 11 12 13


अध्याय 1

1 अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो।
2 अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसंग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो।
3 पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।
4 परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू रू भन्दा महान् हुनुहुन्छ।
5 परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता बनेको छु।” भजनसंग्रह 2:7उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन “म तिनका पिता बन्नेछु र तिनी मेरा पुत्र बन्नेछन्।”
2
6 अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाईयस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ“परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।”
7 स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ,“परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतासजस्तो बनाउनुभयो, अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।”
8 तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो“हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।
9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टलाई घृणा गर्नुहुन्छ, त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंको साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”
10 परमेश्वर अझै भन्नुहुन्छ“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।
11 “यी सब विनाश भएर जाने छन् तर तपाईं सदाकाल रहिरहनु हुनेछ अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्
12 तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ। ती फेरि वस्त्र झै बद्लिने छन्, तर तपाईं कहिल्यै बद्लिनु हुने छैन। तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”
13 अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई करिल्यै भन्नुभएन“तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्, जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।”
14 सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।




अध्याय 2

1 यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।
2 स्वर्गदूतहरू मार्फत परमेश्वरले दिनुभएको शिक्षा साँचो हो भन्ने देखाइएको थियो! अनि जहिले पनि यहूदीहरूले त्यस शिक्षाको विरोध गरे अथवा त्यसको अनुसरण गरेनन् तिनीहरूले उचित दण्ड पाए।
3 हामीलाई दिइएको उद्धार धेरै महान् हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गरर्यौ भने हामी दण्डबाट कसरी उम्कन सकौंला? उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो। अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँचो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे।
4 परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पबित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिएर त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो।
5 आउन लागेको त्यो नयाँ संसारको शासक बन्न परमेश्वरले स्वर्गदूतहरूलाई छान्नु भएन। त्यो भविष्यको संसार हो जुन हामीले चर्चा गर्न लागेका छौं।
6 धर्मशास्त्रमा कही लेखिएको छ“तपाईं किन मानिसलाई सम्झनु हुन्छ? किन तपाईंले मानिसको पुत्रको बारे सोंच्नु हुन्छ? उ यति महत्वपूर्ण छ?
7 छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो।
8 अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।” परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं।
9 केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।
10 परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोरयाउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो।
11 उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न।
12 त्यसैले उहाँ भन्नुहुन्छ“हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु। तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।”
13 उहाँ यसो पनि भन्नुहुन्छ, “म परमेश्वरमा भरोसा गर्छु।”
14 ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ।
15 येशू ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकून्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए।
16 यो स्पष्ट छ कि, येशूले स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका सन्तानहरूलाई सहायता गर्नुहुन्छ।
17 यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्।
18 अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सकनुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।




अध्याय 3

1 यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ।
2 परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो।
3 यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ।
4 हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।
5 परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्।
6 तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफुमा भएको आशाप्रति निश्चिन्त र र्गवित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।
7 त्यसैकारण पवित्र आत्मा भन्नहुन्छ “आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
8 अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरयौ। त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।
9 चालिस र्वषसम्म मरूभूमिमा मैले के के गरें त्यो तिम्रा पिता-पुर्खाहरूले देखे। तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।
10 त्यसैले म तिनीहरूसित रिसाएँ र मैले भनें ‘तिनीहरूका विचार सँधै गल्ती छन् तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’
11 त्यसैले म रिसाएँ र शपथ लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन् र मसित विश्रान्ति पाउने छैनन्।”‘
12 त्यसकारण दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।
13 तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्।
14 हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।
15 धर्मशास्त्रले भनेको छ“यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्दछौ भने, अतीतमा जस्तै हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।”
16 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए।
17 अनि परमेश्वर तिनीहरूसंग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे।
18 अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।
19 यसकारण हामी बुझछौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।




अध्याय 4

1 परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुकनु हुँदैन।
2 जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्।
3 हामी विश्वासीहरू परमेश्वरको विश्राममा प्रवेश पाउँछौं। जस्तो परमेश्वरले नै भन्नुभयो“म रिसाएँ र प्रतिज्ञा लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश गर्ने छैनन् र मेरो विश्राम पाउने छैनन्।” भजनसंग्रह 65:11परमेश्वरले यसो भन्नुभयो। तर परमेश्वरले यस संसारको सृष्टि गर्नुभएपछि उहाँले आफ्नो काम समाप्त गर्नुभयो।
4 धर्मशास्त्रमा कहीं परमेश्वरले सातौं दिनको कुरा गर्नुभएको छ “अनि सातौं दिनमा परमेश्वरले आफ्नो सबै कामहरूबाट विश्राम लिनुभयो।”
5 उपरोक्त खण्डमा यो पनि भनिएको छ, “ती मानिसहरू मेरो विश्राममा पस्न पाउने छैनन्।”
6 यो अझै सत्य छ कि कतिपय मानिसहरूले प्रवेश गर्नेछन् र परमेश्वरको विश्राम पाउने छन्। तर ती मानिसहरू जसले पहिले मुक्तिको उपाय सुने त्यहाँ पस्न योग्यको थिएनन् किनकि तिनीहरूले आज्ञा मानेनन्।
7 यसकारण परमेश्वरले अर्कै विशेष दिनको योजना गर्नुभयो। त्यसलाई “आज” भनियो। दाऊदद्वारा परमेश्वरले त्यस दिन बारे धेरैपछि बताउनुभयो। हामीले त्यो धर्मशास्त्र अघि नै उपयोग गरयौं।“यदि तिमीहरूले परमेश्वरको आवाज आज सुन्यौ भने, अतीतमा जस्तै हठधर्मी नबन।”
8 हामी जान्दर्छौ यहोशूले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुइछौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो।
9 यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौ दिनको विश्राम अझै आउँदैछ।
10 आफ्नो काम सकेर परमेश्वरले विश्राम लिनुभयो। यसकारण जसले प्रवेस गर्छ र परमेश्वरको विश्राम पाउँछ उसले परमेश्वरले गरिसकनु भए जस्तै आफ्नो काम गरिसकेको हुन्छ।
11 समर्थ हामी पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने सक्दो कोशिश गरौं हामीले सक्दो कोशिश गर्नुपर्छ ता कि परमेश्वरको आज्ञा नमान्नेहरूको नमूना बनेर हामी नष्ट नहौं।
12 परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।
13 संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।
14 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ. उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।
15 हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन।
16 येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।




अध्याय 5

1 कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ।
2 प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुइन नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्।
3 प्रधान पूजाहारीले मानिसहरूका पापको लागि बली चढाउँछन् तर उनी स्वयं कमजोर मानिस भएकाले आफ्नै पापको लागि पनि बली चढाउनु पर्छ।
4 प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफुले आफैलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ।
5 उसै गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो“तिमी मेरा पुत्र हौ आजदेखि म तिम्रा पिता भएँ।” भजनसंग्रह 2छ7
6 धर्मशास्त्रको अर्को भागमा उहाँले भन्नुभयो“मल्कीसेदेक जस्तो तिमी सदा सदाको लागि पूजाहारी बन्ने छौ।”
7 जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो।
8 येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो।
9 तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो।
10 अनि परमेश्वरले मल्कीसेदेकलाई जस्तै येशूलाई प्रधान पूजाहारी बनाउनु भयो।
11 हामीले यसबारे तिमीहरूलाई धेरै कुरा भन्नुछ। तर तिमीहरूले सिकने इच्छा गरेनौ, तिमीहरूलाई यो बुझाउन खुबै कठिन भएको छ।
12 वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसक्नुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दुध नै चाहिएको छ, ठोस आहार होइन।
13 दूध खाने अझै पनि नानी नै हुन्छ अनि त्यसले उचित शिक्षाबरे केही जान्दैन।
14 तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।




अध्याय 6

1 यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोडनु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै र्फकनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ।
2 त्यसबेला, हामीलाई बप्तिस्माहरू,मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढनु पर्छ।
3 परमेश्वरले चाहनु भए हामी त्यो पनि गछौं।
4 मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्। तिनीहरूले परमेश्वरले भन्नुभएको वचन सुनेका छन्, र परमेश्वरको नयाँ संसारको महाशक्ति देखेका छन्। अनि ती कुराहरू खुबै राम्रा थिए भनेर तिनीहरूले बुझेका छन्। तर त्यसपछि तिनीहरूले ख्रीष्टलाई छोडे। अब तिनीहरूलाई फर्काएर फेरि ख्रीष्टमै ल्याउन असंभव छ। किन? किनकि तिनीहरूले ख्रीष्टलाई फेरि क्रूसमा टाँगेर काँटी ठोक्दैछन्। तिनीहरूले मानिसहरूको सामू ख्रीष्टलाई लज्जित तुल्याउँदै छन्।
5
6
7 जुन खेतले घरिघरि पानी पाउँछ र खेती गर्नेलाई अन्न उमार्छ। यस्ता खेतले परमेश्वरको आशीर्वाद पाउँछ।
8 तर यदि त्यस जमीनले काँढा र सिउँडीहरू उमार्छ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ।
9 प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी ढुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिम्रो मुक्तिको जमानत दिन्छ।
10 परमेश्वर न्यायसंगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले संझनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।
11 तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ।
12 अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।
13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ।
14 परमेश्वरले भन्नुभयो, “म तिमीलाई निश्चितरूपले आशीर्वाद दिदँछु। म तिमीलाई धेरै सन्तान दिनेछु।”
15 यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए।
16 शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँचो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ।
17 जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाण गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझून् भन्ने पनि परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सकनु हुन्न, अनि जब उहांले कुनै शपथ लिनुहुन्छ उहाँले ढाँट्न सकनुहुन्न।
18 यी दुइ कुराहरू बद्लिन सकदैनन्। अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौ।
19 हाम्रो आशा एउटा लंगूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मंदिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ।
20 येशू अघिबाटै त्यस ठाउँमा पसिसकनुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।




अध्याय 7

1 मल्कीसेदेक शालेमका राजा थिए र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। जब अब्राहाम लडाई जितेर आउन लागेका थिए, मल्कीसेदेकले उनलाई भेटे र आशीर्वाद दिए।
2 अनि अब्राहामले मल्कीसेदेकलाई आफूसित जति थियो त्यसको दशांश भाग दिए। ‘मल्कीसेदेक’ नाउँका दुइवटा अर्थ छ। पहिलो अर्थ हुन्छ धार्मिकताको राजा। “शालेमका राजा” को पनि अर्थ हुन्छ “शान्तिको राजा।”
3 मल्कीसेदेकका माता-पिता को थिए र कहाँबाट आएका थिए त्यो कसैले जान्दैन। अनि उनी कहिले जन्मे र कहिले मरे त्यो पनि अज्ञात नै छ। उनी परमेश्वरको पुत्र जस्तै हुन् र उनी सदाकाल पूजाहारी भइरहन्छन्।
4 यसबाट, तिमीहरू बुझ्नसक्छौ कि मल्कीसेदेक एक जना खुबै महान पुरूष थिए। पितृ-प्रमुख अब्राहामले मल्कीसेदेकलाई आफूले युद्धमा जितेको जम्मैको दशांश भाग दिए।
5 अब नियमले भन्छ, लेवीको सन्तानबाट जो पनि पूजाहारीहरू बनिन्छन्, मानिसहरूबाट उसले दशांश पाउनु पर्छ। पूजाहारीहरू र तिनका मानिसहरू दुवै अब्राहामकै परिवारबाट हुन। तथापि पूजाहारीहरूले आफ्नै मानिसहरूबाट दशांश उठाउँछन्।
6 मल्कीसेदेक लेवीका सन्तानबाट आएका थिएनन्। तथापि उनले अब्राहामबाट दशांश पाए। अनि उनले अब्राहामलाई आशीर्वाद दिए जसलाई परमेश्वरले वचन दिएका थिए।
7 अनि सबै मानिसहरूले जान्दछन् कि जो ठूला मानिसहरू छन् साना मानिसहरूलाई आशीर्वाद दिन्छन्।
8 ती पूजाहारीहरू दशांश पाउँछन् तर ती सबै बाँच्ने मानिसहरू मात्र हुन्। तर मल्कीसेदेक जसले अब्राहामबाट दशांश पाए, सदाकाल बाँचिरहन्छन्, जस्तो धर्मशास्त्रले भन्छ।
9 लेवीले मानिसहरूबाट दशांश पाउछन्। तर यसो पनि भन्न सकिन्छ कि जब अब्राहामले मल्कीसेदेकलाई दशांश दिए लेवीले पनि दिए।
10 लेवी त्यस बेला जन्मेका थिएनन्। उनी त आफ्ना पुर्खा अब्राहामकै शरीरमा थिए जब मल्कीसेदेकेलाई अब्राहामले भेटे।
11 यदि लेवी पूजाहारी-पद्धतिबाट आत्मिक पूर्णता पाउन सके अनि यदि यसै पूजाहारी-पद्धतिको आधारमा यी मानिसहरूलाई नियम दिइएको भए, हारूनको पूजाहारी दर्जाबाट नआई मल्कीसेदेकको पूजाहारी दर्जामा अर्कै पुजाहारी आउने के दरकार थियो?
12 अनि जब अर्कै किसिमको पूजाहारीपन चलाइन्छ भने विधान बद्लन पर्छ।
13 हामी यो कुरा ख्रीष्टको बारेमा भन्दैछौं। उहाँ अर्कै उपजातिका हुनुहुन्थ्यो। त्यस उपजाति कसैले पनि वेदीमा कहिल्यै सेवा गरेका थिएनन्।
14 यो स्पष्ट छ कि हाम्रा प्रभु यहूदाको वंशबाट आउनुभयो तर मोशाले त्यस वंशबाट पूजाहारीहरू हुने बारे केही कुरा गरेनन्।
15 अर्का एक पूजाहारी आउनुहुनेछ जो मल्कीसेदेक जस्तै छन्, भन्ने तथ्य बारे यो बढता स्पष्ट हुन्छ।
16 उहाँ मानव नियम र विधानहरू अनुसार पूजाहारी हुनुभएन। उहाँ आफ्नो अनन्त जीवनको शक्तिद्वारा पूजाहारी हुनुभयो।
17 धर्मशास्त्रमा उहाँ बारे यो भनिएको छ “तिमी मल्कीसेदेक जस्तै सधैँको निम्ति पूजाहारी हौ।”
18 अघिका नियम अब समाप्त भयो किनकि त्यो कमजोर र बेकार थियो।
19 मोशाको व्यवस्थाले कुनै कुरालाई पूर्ण बनाउन सकेन। अनि अब हामीलाई अझ असल आशा दिइएको छ जसबाट हामी परमेश्वरको नजिक आउन सक्छौं।
20 महत्वपूर्ण कुरो यो छ कि परमेश्वरले जब येशूलाई प्रधान पूजाहारी बनाउनुभयो, उहाँले प्रतिज्ञा लिनुभयो। जब अरूहरू पूजाहारी बने त्यहाँ कुनै प्रतिज्ञा थिएन।
21 तर ख्रीष्ट चाँहि परमेश्वरको प्रतिज्ञाद्वारा पूजाहारी बन्नुभयो। परमेश्वरले उहाँलाई भन्नुभयो“परमेश्वरले प्रतिज्ञा लिनुभयो उहाँले आफ्नो मन परिवर्तन गर्नुहुने छैन। ‘तिमी सदा-सदालाई पूजाहारी हौ।”
22 यसको अर्थ हो, येशू एक उत्तम करारको साक्षी हुनुभयो।
23 अन्य पूजाहारीहरूलाई पूजाहारी भइरहनबाट मृत्युले रोक्यो। त्यसैले धेरै पूजाहारीहरू भए।
24 तर येशू सदा जीवित हुनुहुन्छ र आफ्नो पूजाहारीपन छोडनुहुन्न।
25 यसैले जो पनि उहाँको मार्फत परमेश्वरकहाँ आउँछन् ख्रीष्टले तिनीहरूलाई बचाउनु हुन्छ। ख्रीष्टले यो सदाकाल गर्नसक्नु हुन्छ, किनभने जो परमेश्वरकहाँ आउँछ त्यसको सहायताको निम्ति उहाँ सधैं बाँच्नुहुन्छ।
26 यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।
27 उहाँ अरू पूजाहारीहरू जस्ता हुनुहुन्न जसले प्रत्येक दिन बली चढाउनु पर्थ्यो। तिनीहरूले पहिले त आफ्नै पापहरूको लागि बली चढाउनु पर्थ्यो र त्यसपछि अरूहरूका पापको लागि। तर ख्रीष्टलाई त्यसो गर्नुपर्ने दरकार छैन। उहाँले आफैलाई सधैंको लागि एकै पल्ट बलीको रूपमा चढाउनु भयो।
28 व्यवस्थाले त तिनैलाई प्रधान पूजाहारी छान्छन् जो अरूहरू जस्तै कमजोर मानिसहरू हुन्छन्। तर परमेश्वरको प्रतिज्ञा व्यवस्थापछि आयो। परमेश्वरले लिनु भएको शपथका शब्दहरूले परमेश्वरका पुत्रलाई प्रधान पूजाहारी हुने बनायो। अनि ती पुत्र सधैंको लागि पूर्ण हुनुभयो।




अध्याय 8

1 हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ।
2 उहाँ परमपवित्र स्थानमा सेवा गर्नुहुन्छ। मानिसले होइन, परमेश्वरले बनाउनुभएको सत्य मन्दिरमा सेवा गर्नुहुन्छ।
3 हरेक प्रधान पूजाहारीको काम हुन्छ परमेश्वरलाई भेटी र बली चढाउने। यसर्थ, हाम्रा प्रधान पूजाहारीले पनि परमेश्वरलाई केही चढाउनु पर्छ।
4 यदि हाम्रा प्रधान पूजाहारी पृथ्वीमा हुनुभएको भए, उहाँ पूजाहारी हुनुहुँदैन थियो। म यसकारण यो भन्दैछु व्यवस्थाले चाहेको भेटी चढाउन त्यहाँ पूजाहारीहरू छँदैछन्।
5 वास्तवमा पूजाहारीहरूले गरेको सेवा त केवल स्वर्गमा भएका कुराहरूको नवकल र छायाँ मात्र हुन्। त्यसैकारण मोशाले जब पवित्र तम्बू तान्दै थिए परमेश्वरले उनलाई चेतावनी दिनुभयो, “याद गर तिमीले हरेक कुरो त्यसै अनुसार बनाउनु जुन तिमीलाई मैले पहाडमा देखाएँ।”
6 तर येशूलाई सुम्पिएको काम अरू पूजाहारीहरूको काम भन्दा धेरै ठूलो थियो। उसै गरी, नयाँ करार जुन येशूले परमेश्वरबाट आफ्ना मानिसहरूलाई ल्याउनुभएको छ त्यो पनि पुरानो करारको भन्दा धेरै ठूलो छ। अनि नयाँ करार उत्तम प्रतिज्ञामा आधारित छ।क
7 पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन।
8 तर परमेश्वरले मानिसहरूमा केही भूल भेट्टाउनुभयो। उहाँले भन्नुभयो“समय आउँदैछ जब म इस्राएलका मानिसहरूलाई र यहूदाका मानिसहरूलाई एउटा नयाँ करार दिनेछु। प्रभु भन्नुहुन्छ,
9 यो करार त्यस्तो हुने छैन जस्तो मैले तिनका पुर्खाहरूलाई दिएँ। त्यो करार मैले दिएँ जब मैले तिनीहरूका हात पक्रेँ र मिश्रदेशबाट ल्याएँ। तर मैले दिएको करारको अनुसरण तिनले गरेनन् तब मैले तिनीहरूबाट आफ्नो मुख फर्काएँ, परमेश्वर भन्नुहुन्छ।
10 “म यो नयाँ करार इस्त्राएलका मानिसहरूलाई भविष्यमा दिनेछु, परमेश्वर भन्नुहुन्छ। म आफ्नो करार तिनका मनमा हालिदिनेछु। म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु। म तिनका परमेश्वर बन्नेछु र ती मेरा प्रजाहरू बन्नेछन्।
11 अब उप्रान्त कसैले आफ्ना सह-वासीलाई अथवा आफ्ना भाइ बहिनीले प्रभुलाई चिन्न सिकाउनु पर्दैन, किन? किनकि सबै मानिसले चाहे ठूलाबढा होऊन् चाहे सानातिना होऊन् मलाई चिन्नेछन्।
12 मेरो विरोधमा तिनीहरूले गल्ती कुराहरू गरे म क्षमा दिनेछु अनि अब उप्रान्त म तिनका पापहरूको याद राख्ने छैन।”
13 यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहरयाउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ।




अध्याय 9

1 अघिल्लो करारमा आराधनाको तरिकाहरू छन्। अनि आराधनाको लागि मानिसले बनाएको ठाउँ थियो।
2 त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढाउनलाई टेबल हुन्थे।
3 दोस्रो पर्दा पछिल्तिर, दोस्रो कोठा हुन्थ्यो जसलाई महा-पबित्रस्थान भनिन्थ्यो।
4 त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए।
5 बाकसको मास्तिर करूणाको आसनमाथि परमेश्वरको महिमा दर्शाउन एक जोडी स्वर्गदूतहरू थिए। तर अहिले हामी यी कुराहरूको विस्तारपूर्वक चर्चा गर्न सक्दैनौं।
6 यस प्रकारले पाल मिलाइएको हुन्थ्यो। तब प्रतिदिन पूजाहारीहरू आराधनाकोलागि बाहिर पट्टिको पवित्र स्थान भित्र पस्थे।
7 तर भित्रपट्टिको दोस्रो कक्षमा प्रधान पूजाहारी मात्र पस्न पाउँथे, त्यो पनि र्वषमा एकपल्ट, अनि त्यसबेला पनि आफूसित रगत नलिई उनी पस्नु सक्दैन थिए। उनले त्यो रगत परमेश्वरलाई उनको आफ्नै र अरू मानिसहरूका अन्जानमा भएका पापहरूको लागि चढाउँथे,
8 पवित्र आत्माले ती दुइ अलग-अलग कक्ष हामीलाई यो सिकाउन प्रयोग गर्नुहुन्थ्यो कि जातिञ्जेल त्यहाँ थियो हाम्रा निम्ति महा पवित्र स्थान खुल्ला हुँदैन थियो।
9 आज यो हामीलाई एउटा उदाहरण भएको छ। यसले स्पष्ट गर्छ कि परमेश्वरलाई चढाएको बलि र भेटीले आराधना गर्ने स्वच्छ बनाउन सक्दैन थियो। यो बलिहरूले आराधना गर्नेलाई हृदयामा पूर्ण पार्दैन थियो।
10 ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउञ्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।
11 प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहुन्न। उहँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन।
12 ख्रीष्ट महा पवित्र स्थानमा सधैंको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुटकारा दिलाउनु भयो।
13 अशुद्ध मानिसहरूलाई बाख्राको र बहरेको रगत अनि कोरलीको खरानी छर्केर शुद्ध पारिन्थ्यो। तर रगत र खरानीले मानिस शारिरिक रूपले मात्र शुद्ध हुन्थ्यो।
14 यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।
15 ख्रीष्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनु हुन्छ, जसमा कि परमेश्वरले बोलाउनुभएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सकुन। परमेश्वरका मानिसहरूले ती कुराहरू सधैंको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रीष्टले आफ्नो प्राण दिनुभयो र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउनसक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न, ख्रीष्टले आफ्नो प्राण दिनुभयो।
16 जब मानिस मर्छ, उसले आफू पछि इच्छा-पत्र छोडदछ। तर इच्छा-पत्र बनाउने मानिस मरेको प्रमाण हुनुपर्छ।
17 मानिस जीवित रहुञ्जेल उसको इच्छा-पत्रको कुनै अधिकार हुँदैन। इच्छा-पत्रलाई मानिसको मृत्युपछि मात्र चलाउन सकिनेछ।
18 पहिलो करार पनि त्यस्तै हो। नियम उपयोगमा ल्याउन अघि त्यहाँ रगत हुनुपर्ने थियो।
19 पहिले मोशाले सबै मानिसहरूको अघि नियमको एक-एक आज्ञा सुनाउँथे त्यसपछि बाछा र बाख्राको रगत पानीसित मिसाएर नियमको पात्रो अनि रातो उनी लाउथे र सबै मानिसहरूमाथि हिसपको हाँगाहरूले र्छकिदिन्थे।
20 अनि मोशाले भने, “यो परमेश्वरले तिमीहरूलाई अनुसरण गर्न भनी दिनुभएको नियमको रगत हो।”
21 उसरी नै मोशाले त्यो रगत पवित्र स्थानमाथि र आराधनामा प्रयोग गरिने सबै सामानहरूमाथि र्छकिथ्ये।
22 व्यवस्थाले भन्छ प्राय सबै जसो चीजहरू रगतले शुद्ध पार्छ। अनि रगत बिना पाप क्षमा हुन सक्दैन।
23 यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमूनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सकली कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ।
24 ख्रीष्ट परम पवित्र स्थानमा जानु भयो जुन स्थान मानिसले बनाएको थिएन। त्यो नक्कल थिएन तर मौलिक स्थान थियो। ख्रीष्ट हाम्रो सहायताका निम्ति परमेश्वरको अघि अहिले देखापर्न स्वर्गनै जानु भयो।
25 प्रधान पूजाहारी परमपवित्र स्थानमा र्वषमा एकपटक पस्छन्। उनले त्यहाँ चढाउनलाई रगत लिएर जान्छन्। तर उनले आफ्नै रगत अर्पण गर्दैनन् जस्तो ख्रीष्टले गर्नुभयो। ख्रीष्ट स्वर्ग जानु भयो तर अरू पूजाहारीहरूले जस्तो घरिघरि चढाए जस्तो आफूलाई धेरै पटक चढाउन होइन।
26 यदि ख्रीष्टले आफूलाई धेरै पटक चढाउनु भएको भए, सृष्टिको शुरूदेखिनै उहाँले धेरै पल्ट कष्टभोग्नु पर्ने थियो। तर ख्रीष्ट आउनुभयो अनि एकै पल्ट मात्र आफूलाई अर्पण गर्नुभयो। अनि एउटै अर्पण सधैं भरिको लागि पर्याप्त थियो। जब यो संसार अन्त्य तिर नजिकिंदै थियो, येशू यस संसारमा आउनुभयो। आफैलाई एउटा बलि बनाएर पाप हटाउनलाई ख्रीष्ट आउनुभयो।
27 सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ।
28 यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई र्पखिरहेका छन्।




अध्याय 10

1 व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँचो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बलि चढाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढाउन छोडदैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन।
2 व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धैरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसकने थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन।
3 यी बलिहरूले त प्रत्येक र्वष मानिसहरूलाई आफ्ना पापहरू संझाउने काम मात्र गर्छ।
4 किनकि बहर र बाख्राहरूको रगतले पापहरू पखाल्न सक्दैन।
5 तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो “तपाईं बलि र भेटीहरू चाहनुहुन्न, तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो।
6 बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न। पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न।
7 तब मैले भने, ‘परमेश्वर म यहाँ छु। व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ। तपाईले चाहेको काम गर्न म आएको छु।”‘
8 उहाँ पहिले भन्नहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चहान्छ।
9 त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ।
10 येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।
11 प्रत्येक दिन, पूजाहारीहरू खडा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्।
12 तर ख्रीष्टले पापको निम्ति सघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो।
13 अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल र्पखिरहनु भएको छ।
14 एउटै बलिले संधैको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, जजसलाई उहाँको बलिले पवित्र गराइँदैछ।
15 पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ
16 “त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बनाउनेछ। म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु। म आफ्ना नियम तिनका मनमा राखिदिनुछु, प्रभु भन्नुहुन्छ।”
17 तब उहाँ भन्नुहुन्छ“अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु। म यी कुराहरू उप्रान्त फेरि संम्झने छैनँ।”
18 अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।
19 यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ।
20 अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोरयाउँछ, जुन ख्रीष्टको शरीर हो।
21 जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ।
22 शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।
23 हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
24 हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ।
25 हामीसँग भेट हुनाबाट र्तकिनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेटनु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन अझै नजिक-नजिक आउँदै छ।
26 सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन।
27 यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयंकर अग्निलाई र्पखिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ।
28 यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे उ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थो।
29 जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के संझन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो।
30 हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।”परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”
31 जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।
32 ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संर्घष गर्नु परेका थियो र धेरै दुख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ।
33 कहिले-काही मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ।
34 हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दुखहरू बाँडयौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि र्हषितै रह्यौ। तिमीहरू प्रसन्नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।
35 यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ।
36 तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं।
37 चाँडै नै,“जो आउनु हुँदैछ आउनुं नै हुनेछ। उहाँले विलम्ब गर्नु हुनेछैन।
38 जो मसित धर्मी छ उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने म उसित प्रसन्न रहनेछैनँ।”
39 तर हामी तिनीहरू मध्येका होइनौं जो डरले र्फकन्छन् न नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।विश्वास




अध्याय 11

1 विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु।
2 प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो।
3 विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो।
4 कयिन र हाबिल दुवैले परमेश्वरलाई भेटीहरू चढाए। तर हाबिलको विश्वास थियो, त्यसैले उनले परमेश्वरलाई असल भेटिहरू चढाए। परमेश्वर हाबिलको भेटीहरूले प्रसन्न हुनुभयो। अनि उनको विश्वासको कारणले, उनी असल मानिस कहलाइए। हाबिल मरे तर उनको विश्वास अझै ज्यूँदै छ।
5 हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँचोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो।
6 विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँचोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ।
7 नूहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नूहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए।
8 परमेश्वरले अब्राहामलाई अर्कै ठाउँको यात्रा गर्न अह्राउनु भयो जुन उहाँले उनलाई दिने वचन दिनुभएको थियो। त्यो अर्को ठाउँ कुन हो र कहाँ छ, त्यसको ज्ञान अब्राहामलाई थिएन। तर परमेश्वरको आज्ञा मानेर उनले यात्रा शुरू गरे किनकि उनको विश्वास थियो।
9 परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए।
10 अब्राहाम एउटा बलियो जग भएको नगरको प्रतीक्षामा थिए, जसलाई बनाउने र सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ।
11 अब्राहाम नानीहरू जन्माउन नसक्ने बूढा थिए र सारा पनि बाँझो थिइन। तर परमेश्वरमा विश्वासकै कारणले उनी बाबु भए। उहाँले वचन पूरा गर्नुहुन्छ भनी अब्राहामले परमेश्वरलाई पत्यार गरे।
12 उनी यति बूढा थिए कि उनी प्राय मृत नै थिए। बाँच्न आशा समेत कमै थियो। तर त्यस्ता मानिसबाट संसारमा ताराहरू जत्ति कै असंख्य र बगरमा बालुवाको कणहरू जत्तिकै अनगन्ती सन्तानहरू जन्मे।
13 यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफु त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे।
14 जब मानिसहरूले यसलाई त्यसरी नै स्वीकार गर्दछन्, तिनले देखाउँछन् कि तिनीहरू यो भन्दा एउटा आफ्नै देशको प्रतीक्षामा छन्।
15 तिनीहरूले आफूले छोडेको देशको याद गर्दा हुन् त फर्केर जाने अवसर तिनीहरूले पाउन सक्ने थिए।
16 तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।
17 अब्राहामको विश्वासको परीक्षा लिन परमेश्वरले उनलाई इसहाकको बलि दिन भन्नुभयो। अब्राहामले विश्वासले त्यसो गरे। उनलाई परमेश्वरले प्रतीज्ञा गराउनुभएको थियो। परमेश्वरले अब्राहामलाई पहिल्यै भन्नुभएको थियो “इसहाकबाटै तिम्रा सन्तान बढने छन्।”तर, अब्राहाम आफ्नो एक मात्र छोरोको बलि दिन तयार थिए। उनले विश्वासले यसो गरे।
18
19 अब्राहामलाई विश्वास थियो कि परमेश्वरले मानिसलाई मृत्युबाट समेत उठाउन सक्नुहुन्छ। अनि साँच्चै जब परमेश्वरले इसहाकलाई मृत्युदेखि बचाउनुभयो, अब्राहामले इसहाकलाई मृत्युबाट फिर्ता पाए।
20 इसहाकको पनि विश्वास थियो त्यसैले उनले याकूब र एसावलाई तिनीहरूका भविष्यको लागि आशीर्वाद दिए।
21 अनि उनले आफ्नो मृत्यु-शैय्यामा आफ्नो लौरोको दुप्पामा अडिई परमेश्वरको उपासना गर्दै, यूसुफका प्रत्येक छोराहरूलाई आशिष दिए। किनकि याकूबको विश्वास थियो।
22 अनि उहाँको मृत्युकालमा यूसुफले इस्राएलीहरूले मिश्रदेश छोडने भविष्यवाणी गरे। विश्वासकै कारणले उनले आफ्नो दफनबारे आदेश दिए।
23 विश्वासकै कारणले, मोशाका माता-पिताले तिनलाई तीन महीना सम्म लुकाएर राखे। मोशा सुन्दर बालक थिए। तिनीहरू राजाको आदेश अस्वीकार गर्न डराएनन्।
24 मोशा बढेर ठूला भए। आफ्नो विश्वासको कारणले उनले आफूलाई फिरऊनकी छोरीको छोरा कहलाउन चाहेनन्।
25 उनले पापको आनन्द मनाउन चाहेनन्। यी आनन्द क्षणिक हुन्छन्। बरू परमेश्वरका मानिसहरूसित रही कष्ट भोग्नु रूचाए। उनले यो विश्वासको कारणले गरे।
26 मोशाले मिश्रदेशको भण्डार भन्दा ख्रीष्टको लागि भोगेको दुख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार र्पखिरहेथे।
27 विश्वासकै कारणले उनले मिश्रदेश छोडे। उनी राजाको रिसदेखि डराएनन्। उनी डटिरहे, जस्तो कि अदृश्य परमेश्वरलाई उनी देख्नसक्छन्।
28 उनले निस्तार-चाडको भोज तयार गरे अनि मृत्यु दूतलाई यहूदीहरूका जेठा छोराहरू मार्नबाट रोक्न उनले दैलामाथि रगत छर्के। यो उनले विश्वासले गरे।
29 अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूखा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे।
30 परमेश्वरका मानिसहरूको विश्वासको कारणले, यरीहोको पर्खाल ढल्यो। उनीहरू पर्खालका वरिवरि सात दिनसम्म घुमेपछि त्यो ढल्यो।
31 राहाब भन्ने एउटी वेश्याले इस्राएली जासूसहरूलाई साथीहरूलाई झैं स्वागत र सहायता गरी। अनि उसको विश्वासको कारणले आज्ञा नमान्ने अरू मानिसहरूसित ऊ चाँहि नाश भइनन्।
32 के मैले अझै धेरै उदाहरणहरू दिइरहनु पर्छ? गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा, दाऊद, शामूएल र अगमवक्तारूका बारेमा भन्न मसित पर्याप्त समय छैन।
33 आफ्ना विश्वासको कारणले कसैले राज्यहरू जिते, अरू कसैले असल कर्महरू गरे, कसैले परमेश्वरको वचन पाउन सफल भए। आफ्नो विश्वासले नै कसैले सिंहहरूका मुख थुने।
34 कसैले आगोको ज्वाला रोके र कोही तरवारका धारबाट उम्के। विश्वासको कारणले तिनीहरूले यी सब गरे। दुर्वलहरू शक्तिशाली बनाइए, युद्धमा शक्तिशाली भए, तिनीहरूले शत्रुहरूमाथि विजय पाए।
35 मृतहरूलाई बौराई उठाइयो र घरमा तिनका स्त्रीहरूका हातमा सुम्पिदिइयो। अरूहरूले छुटकारा हुनदेखि आफैले अस्वीकार गरे। तिनीहरूलाई सताएर मारियो। तिनीहरूले यसै गरे किनकि तिनीहरू अझ राम्रो जीवनमा उठ्न चाहन्थे।
36 कति जनाको हाँसो उडाइयो कतिलाई कोर्राले चुटियो, अनि कतिलाई साङलाले बाँधेर कैदखानामा फ्याँकियो।
37 कतिलाई ढङ्गाले हिर्काएर मारियो, र कतिलाई चिरेर दुइ फ्याक पारियो। कतिलाई तरवारले छिनाइयो। कसै कसैले भेडा र बाख्राका छाला लाउँथे, तिनीहरू गरीब, सताइएका र अरूले दुर्व्यवहार गरिएकाहरू थिए। यस्ता मानिसहरू पाउन संसार योग्य थिएन
38 यी पुरूषहरूलाई राख्न यो संसार उचित थिएन। तिनीहरू पाहाड र मरूभूमिहरूमा भट्किहिंडथे, पृथ्वीका ओडार र गुफातिर बसिहिंडथे।
39 यी सबै तिनका विश्वासमा परिचित छन्। तर परमेश्वरको वचन तिनीहरू कसैले पाएनन्।
40 परमेश्वरले हामीलाई केही ठूलै कुरो दिने योजना गर्नु भएको थियो ताकि हामीसँग तिनीहरू पूर्ण बनाइन सकिन्छ।




अध्याय 12

1 हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउछ भने त्यसलाई फ्याँकनु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ।
2 हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।
3 विवादहरू सहनुहुन येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा संझ।
4 तिमीहरू पापको विरूद्ध लडदैछौ, तर अहिले सम्म तिमीहरूलाई रगत बगाउनु पर्ने अवस्थासम्म पुगेका छैनौ।
5 तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ“मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ, तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ।
6 प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।’
7 त्यसैले हरेक दुखलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्।
8 हरेक छोराले जस्तो तिमीले कहिल्यै सजाय पाएका छैनौ भने तिमी खास छोरा नै होइनौ।
9 यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौ नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गरयौं भने हामीले जीवन पाउनेछौ।
10 हाम्रा संसारिक पिताहरूले हामीहरूलाई उनीहरूले उचित सम्झेको अनुशासनको निम्ति केही समयको लागि सजाय दिए। तर उहाँ जस्तै पवित्र हुनलाई हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गराउँनु हुन्छ।
11 सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।
12 तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ।
13 असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ।
14 सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।
15 सर्तक बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बंचित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बडनु हुँदैन र अरूलाई बिगार्नु हुँदैन।
16 कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाव जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाव जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो।
17 तिमीहरू जान्दछौ, पछिबाट, उसले आफ्ना पिताको आशीर्वादको लागि रूनु पर्यो। तर उसलाई आशीर्वाद दिन अस्वीकार गरे। किनकि एसावले आफूले गरेका कुराहरू बदल्ने उपाय पाउन सकेन।
18 तिमीहरू नयाँ ठाउँमा आएका छौ। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौ। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौ। यही पाहाड हो जहाँ इस्राएलीहरू आएका थिए।
19 यहाँ तिनीहरूले सुनेको जस्तो तुरहीको आवाज र बोलेको स्वर पनि सुन्दैनौ। जब तिनीहरूले यस्ता आवाज सुने, तिनीहरूले एउटै आवाज पनि सुन्न नपरोस्, भनेर अनुनय गरे।
20 तिनीहरूले आदेशलाई थाम्न सकेनन् “यदि पशु सम्मले पनि यो पाहाड छोए त्यसलाई ढुङ्गाले हिर्काएर मारिन्छ।”
21 तिनीहरूले जो देखेका थिए त्यो यति डरलाग्दो थियो कि मोशाले भने, “म डरले थरथरी काँपिरहेछु।”
22 तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।
23 तिमीहरू परमेश्वरका प्रथम पुत्रहरूका सभामा आइपुगेका छौ जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका निर्णयकर्ता परमेश्वरकहाँ आएकाछौ। अनि तिमीहरू धर्मी मानिसहरूका आत्मा भएको ठाउँमा आएकाछौ जो पूर्ण बनेका छन्।
24 तिमीहरू येशूकहाँ आएका छौ जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रगत छर्केको ठाउँमा आएकाछौ जसले हामीलाई हाबिलको रगतले भन्दा असल कुराहरू भन्दछ।
25 होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ?
26 त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी र्थकियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धरती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।”
27 यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हरेक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्।
28 यसर्थ, हामी कृतज्ञ बन्नुपर्छ किनकि हामीले एउटा राज्य पाउँदैछौं जो हल्लिन सक्दैन। अनि हामीले उहाँलाई प्रसन्न तुल्याउने तरिकाले आदर र भयले पूज्नुपर्छ।
29 किनभने हाम्रा परमेश्वर आगो जस्तो हुनुहुन्छ जसले सखाप पार्नुहुन्छ।




अध्याय 13

1 ख्रीष्टमा तिमीहरू दाज्यू-भाइ र दिदी-बहिनीहरू जस्ता हौ र आपसमा प्रेम गर्न छोडनु हुँदैन।
2 मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे।
3 जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफु पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दुखमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ।
4 सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुईजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ।
5 पैसाको मोहदेखि आफूलाई टाडा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ “म तिमीलाई कहिल्यै छोडदिनँ म तिमीदेखि कहिल्यै भग्दिनँ।”
6 त्यसर्थ ढुक्कसित भनौ“प्रभु मेरा सहायक हुनुहुन्छ, मलाई केही डर हुने छैन। कसैले मलाई केही अनर्थ गर्न सक्छ?”
7 आफ्ना अगुवाहरूलाई सम्झौ। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुसरण गर।
8 येशू ख्रीष्ट हिजो, आज र सधैं एक समान हुनुहुन्छ।
9 किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।
10 हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।
11 पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्।
12 त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो।
13 यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ।
14 यस धरतीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं।
15 यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोडनु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओठबाट निस्केको प्रशंसा नै त्यो बलि हो।
16 अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
17 आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दुखित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।
18 हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैं जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ।
19 म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढता म केही चाहन्न।
20 म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेडाका ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।
21
22 मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैयपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरें। अनि यो चिट्ठी साह्रै लामो छैन।
23 हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।
24 तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई नमस्कार भनिदिनू। इटालीयाबाट आएका सबैको नमस्कार।
25 परमेश्वरको अनुग्रह तिमीहरू सबैमाथि होस्।